कथा: उपहार


  • सुन्दर शिरीष

साँझ रफ्तारमा दगुरिरहेको छ । हृदय सपनाको ताजमहलमा क्रमसः प्रेमको ईटा जोड्न हरतरहले प्रयासरत छ । सेलफोनमा प्रेम प्रणयका सन्देश एक–एक गरी थपिदै गईरहेको छ । पर... एकाध कुकुरहरु साम्राजिलो भुकाई भुकिरहेछन् । समय चकमन्न रातलाई आलिङ्गन गर्न खोज्दैछ । सुनसान छ परिवेश । सिमसिम पानी परिरहेको छ । छानोसँग पैठजोरी खेल्दै गरेको गुलावलाई स्पर्श गरेर पानीको थोपा मेरो निधार, नाक, ओठ हुँदै जमिनतिर हुरतुराउँदै झरिरहेछ । पानीले कहाँ हृदयको उद्देलनालाई भिजाईदिन सक्दोरहेछ र ? म बार्दलीमा बसेर भावना रिङ्मिगिएको क्षितिज हेदैछु । हृदयको तार एक पछि अर्को गर्दै झङ्कारीत छ । साँच्चै भनुँ म एकदमै रन्थनिएको छु धेरै यति धेरै की, अहो ! यतिखेर म पवनको एक–एक स्पर्श चुम्न सक्छु । पानीको एक–एक बुँदसँग रुमल्लिन सक्छु । सुनाखरीको मन्द सुवासमा हराउन सक्छु । उर्फ ! म किन यति तरल भईरहेको छु ?

कलेज जीवनको पहिलो प्रहरमै भेट भएथ्यो उसँग । झर्ना जस्तै फर्फराउदो कपाल नीलो गहिरो भावुकता लुकेको आँखा, पुस्ट र सुडौल शरीर, बास्नायुक्त देह । अनौठो व्यक्तित्व छ एलिसाको ।

कलेज जीवन छुट्टै आनन्दको हुन्छ ।

साथी–संगी, करियर, परिवार सबैको आँखाको नानी । अझ भनौं सपनाको फूल । कलेज ड्रेसमा सानसँग हिँड्न पाईने । अझ पार्कमा साथीहरुसँग चियाको चुस्किसँगै भावना साटिरहँदाको त मज्जै बेग्लै ।

म पत्रकारीताको विद्यार्थी, ऊ संगीतको । म पूर्वि पहाडमा जन्मिएको, ऊ तराईको फाँटमा । कसरी बाट्टियो सम्बन्धको डोरी आजसम्म भेउ पाउन सकेको छुईन ।

समय विस्तारै बगिरहेछ । अगाडिको रातो पर्दा खुल्ने तरखरमा छ । मन्द छ परिवेश सुनसान छ हृदय । एकाध साथीहरु हलको कुनामा बसेर सिम्फोनीको मज्जा लिईरहेछन् । कता कता चियर्सको ध्वनी मलिनसँग गञ्जीरहेछ । पर्दा खुल्छ । तालीको गडगडाहट र फूलको वर्षा भईरहेछ । ऊ फूलको वर्षासँग रुझ्दै मन्द मुस्कानमा अभिवादन स्वरुप हात हल्लाईरहेकी छे। लाग्छ जुगलको चुचुरोमा हिउँको फुस्फुसे वर्षासँग रुझ्दै सारा सृष्टिलाई अभिवादन गरिरहेकी हो ।

अडिटोरीयम दर्शकहरुले भरिएको छ ।

ऊ विस्तारै भायोलिनको तार तर्फ आफ्ना सुकोमल औंला बढाउँछे । भायोलिन र मेरो हृदयको तार एकै साथ झन्झनाउँछ । भायोलिनको अलापसँगै उनी मधुर ध्वनी गुञ्जन्छ । हल संगीतमय बन्छ । दर्शकहरु मन्त्रमुग्ध छन् । भायोलिनको अन्तिम झङ्कार र स्वरको उच्चतम बिन्दुबाट ऊ अलप हुन्छे । फेरि पर्दा लाग्छ अडिटोरीयमको ।
सँगै साथीहरुको टीका टीप्पणी सुनिन्छ ।
– स्वर चाँहि सारै राम्रो हो ।
– भायोलिनको समायोजन पनि कम्ता राम्रो होईन ।
– मान्छे पनि त हेर्नुपर्यो नि !
– हा. हा.. हा... हा.... !

म यी सब सुन्दै हलको चारैतर्फ आफ्नो मन डुलाईरहन्छु ।

‘कार्यक्रम सकियो अब गेटटगेदर पार्टी । सर्वप्रथम परिचयबाट,’ प्रिन्सिपलको स्वर माइकबाट चारैतर्फ फैलन्छ । र, सुरुभयो परिचयसँगै रंगीन साँझ, मदमस्त पार्टी ।

आरकेस्ट्राको मधुर धुनमा सबै कम्मर हल्लाउदै छन् । म सानैदेखि कोलाहाल मननपराउने मान्छे । हलको देब्रेपट्टिको पिकासोको एक्रोलिक चित्र छेउ बारमा अडेसिदै जुसको साहारामा रमाईलो हेरिरहेको छु, रमाईलो मानिरहेको छु । अनौठो लागिरहेछ मलाई । सबै आ–आफ्नो ताल–ओ–तालमा छन् । गलफ्रेण्ड, व्वाईफ्रेण्ड हुनेहरु त अझ गजबले झुम्दैछन । के रंग हुन्छ हँ प्रेममा ? ऊ त्यो केटाले त झन्डै तिनको गालामा चुमेको । केटी कुत्कुतिदै एकापट्टि लागि । सबै छुट छ आजलाई ।

प्रिन्सिपल विकाश र एलिसा आफूतर्फ आउँदै गरेको देखेपछि सम्हालिएँ । जुसको ग्लास टेवलमा राखें र टाई मिलाएँ । अनुशासित त हुनैपर्छ ।

‘सौरभ के गदै छौं ?’ विकास सरले आउँदा आउँदै सोधेपछि म तरल भएँ ।
‘यत्तिकै सर’, अकमकिएछु– ‘नाँच हेरिरहेको ।’ सम्हालिदै जवाफ दिन्छु
‘एलिसा, ऊ सौरभ । जर्नालिजमको फष्ट इयरको टप । चित्र पनि बनाउँछन्, मज्जाको ।’ सरले मेरो परिचय दिए ।
‘सौरभ, उनी एलिसा । म्यूजिक अध्ययन गर्दै छिन् । फष्ट ईयरमा ।’ उनको पनि परिचय दिए सरले ।
‘हाई, म एलिसा’, उनले म तर्फ हात बढाईन् ।
‘हेल्लो !,’ म हात मिलाउछु ।
‘तिमी नाँच्दैनौं ?’, विकास सरको प्रश्न ।
‘थ्याङ्स् सर, म अहिलेसम्म नाँचेको छैन’, उत्तर दिन्छु ।
‘सरले रिक्वेस्ट गरेपछि नाँच न त ।’, एलिसाको भन्छिन् ।
‘होईन, ठीक छ,’ म पन्छिन खोज्छु ।
‘सौरभ, प्लीज नाचौँ न । म पनि नाँच्छु नि’, एलिसा जिद्धि गर्छे ।
‘जाउ जाउ सौरभ, यो त अवसर हो प्रतिभा फुलाउने’, विकास सर उक्साउनुहुन्छ ।

एलिसा मेरो हात समाउँदै तान्छे । हामी स्टेजमा पुग्छौं । साथीहरु लेजर फोकस लाईटमा तिरमिराउँदै नाँचिरहेका छन् । म विस्तारै हात हल्लाउँछु । आफैंलाई लाज लाग्छ । एकमन त तुरुन्तै हलबाट बाहिरिउँझैं नलागेको कहाँ हो र !

‘त्यसरि होईन’, भन्दै एलिसा मेरो हात उसको कम्मरमा राख्छे । मेरो हृदयमा कम्पन छुट्छ । हामी विस्तारै आरकेट्राको धुनमा खुट्टा चाल्दैछौं । उसको हात विस्तारै कस्सिदै छ । र, मेरो पनि । उसको आँखा मेरोमा र मेरो आँखा उसकोमा । हेराई एक छन् । हामी नजिकिदैछौं । तातो स्वासको स्पशले हृदय पग्लदै छ । एक्कासी संगीत बन्द हुन्छ । तालीले हल गुञ्जयमान हुन्छ । म उसको कम्मरबाट हात झट्ट तान्दै भाग्न खोज्छु, लाजले । सायद त्यतिबेला मेरो गाला गुराँस भएको हुनुपर्छ । ऊ फुत्कदै गरेको मेरो हात च्याप्प समाउँदै भन्छे– ‘भोली रोज क्याफेमा, ठीक आठ बजे । आके !’ म रनभुल्ल हुन्छ । ‘ओके’, ओठबाट फुस्किसक्छ शब्द । र, बाहिरिन्छु ।
सकियो वेलकम पार्टी । घर आईपुग्दा साँढे नौ भईसकेछ ।

बिहान पाँच बजे आलार्म बज्यो सेलफोनमा । हतार हतार ड्रेस लगाएर कलेज जान तम्तयार भएँ । चियानै नपिई निस्किएँ घरबाट ।

‘बाबु कता ?’, मामुले सोध्नुभयो ।
‘कलेज ।’, म हिंडे ।
‘आज शनिबार होईन र ?’
धत्तेरीका कस्तो बुद्धि । हो त आज शनिबार । फेरि कोठामा पसें । ड्रेस चेन्ज गरें । चिया पिँए ।
‘मामु म एकैछिन बाहिर गएँ है’, भनें ।
‘छिट्टै फर्कनु, खाना चिसो हुन्छ’, मामुको उत्तर ।

म सरासर रोज क्याफे गएँ । पौने आठ अझ १५ मिनेट बाँकी छ  । म क्याफेकै पार्कमा टहल्छु । केटाकेटीको एक हुल स्वईमिङ पुलमा पौडदैछन् ।

‘सरी, ढिला आँए’, एलिसा मुस्काउँदै बस्छे । नजिकै ।
‘होईन, ठीकै छ’, म बोल्छु ।

सामान्य गफगाफबाट क्रमसः हामी मास्थिर उक्लियौं । नगरकोट, गोदावरी, दक्षिणकाली हाम्रो लागी प्रेम साट्ने पार्क भए । सेलफोन प्रेम जोड्ने पुल ।

भायोलिनको व्याकुल छातीमा अझ ब्याथा भरिदिनसक्ने खप्पिस औंलाहरु मेरो औंलामा नाँचिरहेको थियो । समय क्रमसः रात तर्फ धकेलिदै थियो । झ्याउँकीरीले साँझलाई संगीतमय बनाउँदै छ । त्यसपल उसको धपक्क बलेको यौवनमा आफ्नो अस्थित्व होमिदिउँ झैं लागेको थियो । सुस्ताएर विताएका अनेकन ती दिनहरुमा एलिसा र मबीच घनिष्टता उमार्ने घडीहरु थिए । एक साँझ एलिसा र म टहल्दै निक्कै परसम्म पुगेका थियौ । एलिसालाई मैले मेरो घरसम्म लगेको थिएँ । म उसको आँखामा प्रेम टप्किरहेको देख्थें जुन प्रेम आजसम्म मैले कतै देखेको थिईन । म पनि उ भित्र आकर्षित भईरहेको थिएँ ।

मेरो बाबा, मामु र बहिनी प्रयुषासित एलिसा एकै छिनमा मिसिई पुरानो परिचितझैं बनिसकेकी थिई । विशेषतः एलिसाको फरासिलो व्यवहार मामुले मन पराउनुहुन्थ्यो । हाम्रो परिवारको खुलस्त व्यवहार मनपरेको कुरा एलिसाले पनि बारम्बार मलाई भन्ने गर्थी ।

त्यसपछि ऊ पहिलो पटक मेरो नीजि कोठामा भित्रिएकी थिई, आफ्नो पूर्ण मादकतासहित । ऊ मेरै अगाडी मखमलको आसनमा बसेकी थिई । उसको शरीरमा त्यही झिनो गाउन थियो । जसले गर्दा उसको गोरो शरीर प्रष्ट देखिन्थ्यो । कोठाको झ्याल छेउको पहेंलो रंगको गमलामा सुनाखरी, चमेली लगायतका फूलहरु फुलेका थिए, जुन बास्नासँग एलिसाको देहको अनौंठो सुगन्ध मिसिएर बेग्लै सुवास फैलिरहेको थियो ।
त्यो हाम्रो पहिलो भ्यालेनटाईन थियो ।

एलिसा कत्ति कोमल थिई भन्ने उसको व्यावहारले देखाउथ्यो । स–साना कुराहरु मसँग बाँड्थी । उसको रुची, परिवार, करियर यावत विषय विस्तारपूर्वक बताउँथी । त्यतिबेला मलाई लाग्थ्यो ऊ अञ्जान शिशु हो । उसको व्यावहार यस्तै–यस्तै हुन्थ्यो ।

आखिर मान्छेको मन न हो एकापट्टी फर्केपछि अर्कोपट्टी भुलिहाल्ने  !

ऊ पढाईको सिलसिलामा बेलायत जाने भई । एयरपोर्ट भित्र पसिसकेपछि उसले मेरो कानमा फुसफुसाई, ‘सौरभ, हाम्रो प्रेमको विरुवा नओइलावस् है ।’ त्यतिबेला उसको ओठ थर्थराईरहेका थिए, वर्षतमा मकैको तलवारे पात थर्थराएजस्तै । मैले अठोट गरें, उसको चाहनालाई जीवन्त बनाईरहनेछु ।

एलिसा रोईदिएकी थिई । हिक्का काट्दै । त्यसबखत उसका दुबै हत्केला आफ्नो हातमा लिँदै ढाडस दिएको थिएँ । छुट्टीने बेलामा छाँद हालेर नमीठोसँग रोई । मेरो मनपनि एकतमास तम्तम्याईलो भयो । मैले आँखाको आँसु पुछिनसक्दै ऊ अलप भई मबाट । केही छिनमा विमान आकाशिएर विपत्ता भईसकेको थियो ।

केही कालसम्म फोन गरिरही उसले । धेरै न्यास्रो लागेको सुनाईरहन्थी । च्याटमा पनि भेट भईरहन्थ्यो । भोली भ्यालेन्टाईन । सेलफोनमा धेरै सन्देश आईरहेका छन् प्रेम प्रणयका तर उसको किन !!! समय परिवर्तनशील छ । धेरै काल भयो फोन नगरेकी उसले । अनलाईनमा पनि आएकी छैन । म सोच्छु उसले मलाई विर्षन त नसक्नुपर्ने । हृदयमा खोपिएका मायाका पदचापलाई भुल्न त नपर्ने । किन सम्पर्क बाहिर छे ऊ विश्व भुमण्डलीकरणको यो युगमा पनि ...

म उसकै सन्देशको पर्खाइमा सेलफोन हेरिरहेको छु । पानी छिटफुट परिरहेको छ । बादल टाउकोमाथी रुमल्लिदै छ । उसको मायाको उद्वेग असरल्ल छ कोठामा । उसले स्पर्श गर्ने भायोलिन उसकै आगमन चिहाईरहेको छ । झ्यालको पहेंलो गमलामा झुलिरहेको चमेली पहेंलै फुलेर मगमगाईरहेछ । रात त्यसरिनै सुनाखरीको झ्याङ्भरी खनिएर छर्पस्टिएको छ । छचल्किएको छ फूलको सुगन्धमा उसको धुमिल तस्विर ।
अन्धकारले कोठा निलेको छ । सुनाखरी स्तब्ध छ, तर आज एलिसा छैन । सुनसान छ धर्ति, मलिन छ हरीयो चौरजस्तै गलैंचा र उसको पाउ चुम्ने भ¥याङ । मामुको अधर कुनै चिजको कमी खट्कीएको आभाष दिन्छ । वहिनी प्रयुषाको चपला हाँसो हिजो आज खै कता उडेको छ ।

खास त, एलिसा छैन  ।

एउटा शेष बाँकी छ, भित्तामा टाँगिएको केरेला तटको छायासँगै रिङ्मिगिएको सुनाखरी फूल र त्यसको सुवासमा रन्थनिएको भायोलिन ।
०००

1 comment:

Powered by Blogger.