कथा : च्यातिन नसकेको चिठ्ठी
- सुन्दर शिरीष
ढोकामा ढकढक आवाज आयो ।
ढोका खोलें । ऊ आएकी थिई । म बिहानीको खाना खाएर समाचार सम्पादन गर्दै थिएँ । ऊ यस्तो अनुहार लिएर आएकी थिई सायद् मैले कल्पनानै गर्न सकिन । मैले बस्न आग्रह गर्न नपाउँदै ऊ सँग आँखा जुध्यो । उसका आँखा भुँईमा जोतिए ।
ऊ सँगको मेरो यो भेट तेस्रो थियो ।
अन्ठाउन्न सालतिर हुनुपर्छ, दुर्गम गाउँको एउटा छिडीँमा उनीलाई पहिलो पटक भेटेको थिएँ । त्यतिखेर ऊ भाषण गर्दै थिई । उसका हात हावामा हल्लिरहेका थिए । लालटिनको मधुरो उज्यालोमा उसको अनुहार नियालें, अनुहार निक्कै रातो र जोसिलो देखिन्थ्यो । म रिर्पोटिङको सिलसिलामा त्यहाँ पुगेको थिएँ । एक सञ्चारकर्मी मित्र पनि म सँगै थिए । एकाध गाउँलेहरुको अगाडि ऊ उभिएकी थिई । ऊ भन्दै थिई ‘हामी लड्न जन्मेकाहरु हौं, जीते संसार हारे एउटा जीवन ।’ त्यतिखेर तालीले छिडीँ गुञ्जेको थियो । मैले मनमनै अनुमान लगाएँ ‘ऊ ठूलै नेता होली ।’
उमेर त्यस्तै अठाह्र वर्ष जतिको हुँदी हो । कार्यक्रम सकिनासाथ उसले मलाई भेट गरी । कार्यक्रम त के भनौ सानो छलफल । शीरबाट झुलिरहेका कपाललाई छोप्दै लगाएको रातो तारे टोपी, जिउमा टिमिक्क मिलेको कम्ब्याट । उसले मेरो आँखामा गहिरोसँग हेर्दै बोली ‘तपाईंहरु यहाँसम्म आईदिनु’भो धन्यावाद !’ मैले अर्धहाँसो हाँस्दै टाउको हल्लाएँ । ऊ अझ नजिक सरि र कोहि कसैले सुन्ला की जस्तै गरी साउती स्वरमा बोल्न थाली ‘तपाई हामी भनेको अन्तरसम्बन्धित छौं । हामीलाई मिडिया चाहिन्छ, मिडियालाई हामी । हामी समग्र शोषित पीडित नेपालीको मुक्तिको खातिर युद्धमा होमिएका हौं । फेरि–फेरि हाम्रो कार्यक्रम हुँदा तपाईहरुलाई सम्झौंला । तर, हामीले दिएका सूचना बाहेक गोप्य कुराहरु प्रकाशन नगर्नुहोला नी । धेरै पत्रकारहरुले हामीप्रति गद्धारी गरेका छन् र त हामी काबार्ही गर्न बाध्य हुन्छौं । अहिलेलाई छुटौं ।’ यतिभन्दै उसले दह्रोसँग हात मिलाई र छुट्टिएकी थिई । उनले बोलेको शब्द–शब्दसँगै मेरो आँखामा सङ्गै काम गरेको केहि सञ्चारकर्मी मित्रहरुको भयावहक लाशहरुको दृष्य नाँचिरहेको थियो ।
त्यसपछि हाम्रो भेट भएन ।
ऊ यदाकदा पत्र पठाईरहन्थी मेरो पत्रिकाको कार्यालयमा । अन्त्यमा लेखेकी हुन्थी ‘एउटा सच्चा योद्धा निर्जला ।’ तर म त्यसको जवाफ पठाउन्नथें । अझ भनौं भ्याउन्नथें । दोस्रो जनआन्दोलन पछि उसको पत्र आउन छाड्यो । एकदिन अचानक मेरो कार्यालयमा एउटा पत्र आयो शक्तिखोरको क्यान्टोन्मेन्टबाट । पत्र पठाएकी थिई उही निर्जलाले । चार पेज लामो थियो पत्र । उसले पत्रमा लेखेकी थिई ‘आजकाल मलाई क्यान्टोन्मेन्ट जेल जस्तै लाग्न थालेको छ । आठ–आठ युद्ध लड्दा मैले यस्तो दिन आउला भन्ने कल्पना समेत गरेकी थिईन । म अन्धकार जीवन बाँचिरहेकी छु । म दिन रात यसबाट कसरी मुक्ति पाउने त्यो मात्रै सोचिरहन्छु ।’
प्रतिउत्तर के दिने ? तै पनि पत्र कोरें । अलि लामै भयो । सान्त्वनाका शब्दहरुले झण्डै आधि पेज रित्तियो । त्यसपछि विश्व कम्युनिष्ट इतिहास, पेरिस कम्युन पतन हुनुको कारण, चीन र रुसको क्रान्ति अनि नेपाली क्रान्तिको सन्दर्भलाई समेत जोड्दा पत्र मैले सोचेभन्दा लामै भयो ।
पत्र पठाएको केहि महिनापछि ऊ ‘क्यान्टोन्मेन्ट नफर्किएको’ समाचारको विषय बन्न पुगि । फेरि चिठ्ठी–पत्र बन्द भयो । समाचारको पछि दौडदा दौडदै लगभग उसलाई बिर्सिसकेको थिएँ । त्यसताका प्रायः म सदरमुकामतिरै बस्थें । एक दिन अचानक ऊ मेरो पत्रिकाको कार्यालयमा टुप्लुकिई । उसलाई चिया पसलको एउटा टेबलमा राखेपछि मलाई थाहा भयो ऊ आफू सदरमुकाममा भएको कुरा सकेसम्म गोप्य राख्न चाहान्थी । ऊ भन्दै थिई ‘म केहि दिन देखि यतै छु तर गोप्य रुपमा ।’
चियाको ग्लास खाली नपारुन्जेल ऊ मौन रहि ।
त्यसपछि ऊ पानीझैं बग्न थाली मेरो सामु । ‘मैले त्यस बखत यस्तो स्थितिको कहिल्यै कल्पना गरिन् । नत्र कलम समाउनुपर्ने हातमा किन बन्दुक अडिन्थेहोलान् र सर ?’ उसले अचानक प्रश्न गरी । मैले के उत्तर दिने ठम्याउनै सकिन । तर, उसले उत्तरको आशा नगरी फेरि बग्न सुरु गरी ‘मैले के गरिन, आफ्नै ज्यान हत्केलामा राखेर युद्ध लडिन कि ? आफ्नै आफन्तहरुको हत्या गरिन कि ? उफ्... यो हत्या शब्द कति डरलाग्दो छ । सुराकीको आरोपमा तपाईजस्तै पत्रकारलाई यी यहि हातले सेरेकी छु । अझपनि यो हातमा आलो रगत गनाउँदैछन् । त्यतिखेर मेरा हातहरु किन काापेनन् ...किन ? मलाई साह्रै ग्लानी भईरहेछ किन त्यतिखेर म मा नारी भावना देखिएन ?’
‘चिया थप्ने कि ?’ मैले सोधें ।
त्यतिखेरसम्म तीन ग्लास चिया रित्तिसकेको थियो । उसले सहज स्वीकारिन । चौथो ग्लासको चुस्कीसँगै पीडाहरु पोखिँदै गए निरन्तर ‘आफ्नै प्रेमीको हत्यामा समेत मैले रुन पाईन ।’ ऊ पछाडि फर्किइ र सुँक्क–सुँक्क गर्न थाली । विस्तारै सलले आँखामा गुडेका आँसुलाई सम्हाली । ‘के यहि अवस्था देख्न हो हामीले आफन्त गुमाएको ?’ उसको उत्तर मसँग थिएन । म चुपचाप बस्दै उनको पीडा र आक्रोसलाई डायरीमा कैद गर्दै थिएँ ।
ऊ मौन भईन र केहिबेर टोलाई । त्यतिखेर ऊ मैले पहिलोपल्ट भेटेकीजस्ती थिईन । नारी भावनाका चिन्हहरु उसको अनुहारमा छरपस्टिएका थिए । सम्हाल्न नसकेर यदाकदा आँखाबाट छचल्किन्थे पनि । पहिलो भेटमा देखेको कठोर मन र दृढ आँखा त्यतिखेर लुप्त भएका थिए ।
‘किन क्यान्टोन्मेन्ट छोड्नुभयो ?’ मैले प्रश्न गरें ।
‘भो म अब विगतमा फर्कन चाहान्न ।’ ऊ एकतमासले झ्यालबाट देखिएको नीलो आकासलाई नियालिरहेकी थिई । म पट्टि नफर्किएरै उसले भनी ‘त्यो आकास कत्ति सफा छ । मेरो मन पनि त्यस्तै कञ्चन बनाई बाँच्न चाहान्छु । के हामीले गरेको त्याग कसैलाई मन्त्री बनाउन र धन कमाउन मात्रै हो र ? होईन, जनताको मुक्तिको खातिर लडेका हामीलाई नेता भनाउँदाहरुले क्यान्टोन्मेन्टमा लगेर थुने । त्यो जेल हो हाम्रो लागि । मैले स्वतन्त्र उड्न चाहें र बन्दन तोडें । कयौं साथीहरुले चाहेर पनि बन्धन तोड्न सकेका छैनन् । मलाई मेरो निर्णय बेठीक लागेको छैन, मैले गरेको यो निर्णयले हज्जारौं सहिदहरु पनि खुसी हुनेछन् । सहिदहरुले यस्तै होला भनेर रगत पोखेका थिएनन् ।’
उसले कत्ति तार्किक कुरा गरी ।
‘साँझ पर्न लाग्यो, सर म लाग्छु ।’ उसले भनी– ‘मनको वेदना पोख्ने समय दिनुभो त्यसप्रति म निक्कै आभारी छु ।’
‘ठीकै छ, कता लाग्नुहुन्छ ?’ म सोध्छु ।
‘सर, अनिश्चित जिन्दगी हो, समयले जता डोहो¥याउँछ त्यतै ।’ उसले रुञ्चे हाँसो हाँस्दै भनी र आँखाबाट अलप भई ।
यसपटक मैले फ्रन्टपेजमा जाने समाचार लेखिन ।
000
आज केहि अफ्ट्यारो मान्दै ऊ मेरो कोठाभित्र छिरी ।
उसका आँखा भुईमा गिरेका थिए, ठूलो पहाडले थिचेजस्तै । मैले उसकै कथालाई समेटेर उपन्यास लेख्ने अठोट गरेको थिएा, त्यसैले उसले पठाएका पत्रहरु असरल्ल टेबुलभर छारिएका थिए । उसले ती छरिएका चिठ्ठीहरुलाई एकटकले नियाली । भित्तामा टाँसिएको एक्रोलिक तेलरंगको क्यानभाषमा नजर छर्दै विस्तारै फुस्फुसाई– ‘सर, मेरो यो सहरमा को नै छ र ? कतिदिन लुक्दै बिताउानु ? उनीहरुले खोजेको खोजेकै छन् रे । इन्डियामा दिदी हुनुहुन्छ, चाईल्डकेयरमा काम मिलेको छ भन्नुभएको छ । अब उतै जाने विचार गरेकी छु ।’
यति भनिनसक्दै उसले गहिरो हिक्का काढी र ढोका खोल्दै दौडिई । टेबलमा सल्बलाईरहेका उसका चिठ्ठीहरु मलाई गिज्याईरहेका थिए । ती च्यातिन नसकेर असरल्ल परेका चिठ्ठीहरुमा उसको तस्वीर गाढा...झन् गाढा हुँदै गईरहयो ।
000
No comments